जेष्ठ ५, २०७३,
त्रिभुवन
विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले
स्नातकोत्तर तहको निर्धारित समयमा थेसिस (शोध)
नसकेका विद्यार्थीहरूको ट्रान्सक्रिप्ट रोक्का गरेको छ
। चैत मसान्तपछि शोधको भाइभा भएर ट्रान्सक्रिप्ट
लिन बल्खु भएका विद्यार्थी निराश भएर फर्किने गरेका
छन् ।
परीक्षा नियन्त्रक केशव बास्तोलाले ०६२ सालपछि भर्ना
भएका र समयभित्र थेसिस नगरेकाहरूको ट्रान्सक्रिप्ट
रोक्का गरेको बताए । त्रिविको प्राज्ञिक परिषद्ले ०७२
चैत मसान्तको समय दिएको र त्यसपछि भाइभा हुनेहरूको
ट्रान्सक्रिप्टको ‘भ्यालिडिटी’ नहुने भएकाले रोक्का
गरेको बताए । भवानीश्वर गौतमले नयाँ पत्रिका दैनिकमा
समाचार लेखेका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले ०७३ चैत मसान्तसम्मको
समय दिन प्रस्ताव गरेको छ । नियन्त्रक बास्तोलाले
परीक्षा बोर्डले ०६२ सालपछि भर्ना भई समयमा थेसिस
नसक्ने विद्यार्थीलाई ०७३ चैतसम्मको समय दिन प्रस्ताव
गरेको र त्यसमा प्राज्ञिक परिषद्ले निर्णय नगरेसम्म कुनै
काम नहुने बताए । ‘विद्यार्थीले हामी ट्रान्सक्रिप्ट हात
पार्न पाए हुन्थ्यो जस्तो गर्छन्, तर बल्खुले अहिले दिए
पनि त्यो भ्यालिड हुँदैन, प्राज्ञिक परिषद्को निर्णय
कुर्नैपर्छ,’ उनले भने । परीक्षा बोर्डले प्रस्ताव
पठाइसकेपछि प्राज्ञिक परिषद्को बैठक बसे पनि सो
विषय एजेन्डामै प्रवेश गरेन ।
विद्यार्थीको शैक्षिक समस्याका विषयमा त्रिविको
प्राज्ञिक परिषद्ले निर्णय गर्नुपर्ने भएकाले पनिका र
डिन कार्यालयहरू समेत अन्योलमा परेका छन् । मानविकी
तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा.
चिन्तामणि पोखरेलले समस्याको समाधान प्राज्ञिक
परिषद्ले मात्र दिने बताए ।
बास्तोलाका अनुसार त्रिविले दुई वर्षे कार्यक्रमको ६
वर्ष, तीन वर्षे स्नातक कार्यक्रमको सात वर्ष र चार वर्षे
स्नातक कार्यक्रम आठ वर्षभित्र सक्नुपर्ने व्यवस्था गरेको
छ । अहिले त्रिविमा विभिन्न संकायमा ०६७ सालसम्म
स्नातकोत्तर तहमा भर्ना गरेका र वैशाखमा भाइभा
भएकाहरूले यस्तै समस्या भोगेका छन् ।
त्रिवि उपकुलपति प्रा.डा.तीर्थराज खनियाँले यस्तो
समस्या आफूकहाँ नआएको बताए । उनले परीक्षा
बोर्डबाट प्रस्ताव आएपछि त्यस विषयमा छलफल हुने
जानकारी दिए । उनले विद्यार्थीले पाएको डिग्रीलाई
थेसिस ढिला भएका कारणले मात्रै सकेसम्म अप्ठ्यारो
नपार्ने बताए ।
Blog Archive
Powered by Blogger.


